आज यम पञ्चकको अन्तिम दिन, बिहान १०ः५१ बजे शुभसाइतमा भाईटीका लगाउदै

  गाैरीशंकर टाइम्स संवाददाता  112 पटक हेरिएको

काठमाडौं । नेपालीको दोस्रो मुख्य चाड तिहारको भाइटीका पर्व आज मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार सप्तरङ्गी टीका लगाएर मनाइन्छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारमा दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाको दिन यो पर्व मनाउने गरिन्छ । यो दिनको महत्वलाई बुझाउन विभिन्न किसिमका पौराणिक किंवदन्ती एवं ऐतिहासिक कथाहरु सुन्ने गरिएको छ । एउटा पौराणिक कथा अनुसार परापूर्व कालमा कात्तिक शुक्ल द्वितीयाको दिन मनाइने भाइटीकाले सूर्य पुत्री यमुनाले आफ्ना दाजु यमराजलाई टीका लगाएको कथा चर्चित रहेको छ ।

भाइटीकाको बिहान १०ः५१ बजे शुभ साइत, दिनभर टीका लगाउन बाधा नरहने

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान १०ः५१ बजेको उत्तम साईत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । दिदीबहिनीले दाजुभाइलाई आशीर्वाद दिने भएकाले यसरी बस्नुपर्ने धर्मशास्त्रविद् भट्टराईले बताए । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम रहेकोछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार