दोलखामा भरुवा बन्दुक पट्कीदा एक युवकको मृत्यु, ६ जना पक्राउ

  गौरीशंकर टाइम्स सम्बाददाता  418 पटक हेरिएको

दोलखा । तामाकोशी गाउँपालिका–२ स्थित झुलेमा भरुवा बन्दुकले लागेर एक युवकको मृत्यु भएको छ । झुलेका स्थानीय २० वर्षीय सन्जीव सार्कीको जंगलमा सिकार खेल्न गएका बेला बन्दुकले लागेर मृत्यु भएको हो ।

गएराति डाँडाबारी जंगलमा सार्की सहित ७ जनाको टोली शिकार खेल्न गएका थिए । सोही क्रममा सार्की आफैँले चलाएको भरुवा बन्दुकको काठको बट भाँचिएर अटोमेटिक फायर हुँदा उनको देब्रे छातीमा छर्राले लागेको थियो । छर्राले लागेपछि सार्कीलाई तामाकोशी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि राति नै चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पतालमा ल्याइएको थियो ।

आइतबार विहान ३ बजे अस्पताल ल्याए लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको दोलखाका प्रहरी प्रमुख डिएसपी दिपक खड्काले जानकारी दिनुभयो । सार्कीसँगै शिकार खेल्न गएका तामाकोशी गाउँपालिका–३ का १६ वर्षीय कृष्ण नेपाली, सोही स्थानका १८ वर्षीय रचेस मुग्राती, १५ वर्षीय सुमन तोलांगि, २२ वर्षीय माधव पोख्रेल, ४२ वर्षीय संजिव पोख्रेल र झुलेका २५ वर्षीय अविदित कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको डिएसपी खड्काले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार