राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ दलले पाए चुनाव चिन्ह

  गाैरीशंकर टाइम्स संवाददाता  236 पटक हेरिएको


काठमाडौं । निर्वाचन आयोग नेपालले दर्ता भएका १२ वटा राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले आइतवार दर्ता भएका १२ वटा राजनितिक दललाई चुनाव चिह्न प्रदान गरेको हो ।

दर्ता भएका दलहरुका लागि २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी निर्वाचन चिह्न प्रदान गरिएको हो । जसअनुसार एमालेको सूर्य चिह्न पहिलो नम्बरमा परेको छ भने दोस्रोमा कांग्रेसको रुख , माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा तेस्रो र चौथोमा राप्रपाको हलो चिह्न रहेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै जसपाले ढल्केको छाता, जनमत पार्टीले लाउड स्पिकर, नेकपा एकीकृत समाजवादीले कलम, नागरिक उन्मुक्ति पार्टीले पिँध भएको ढकिया, लोसपाले साइकल, नेमकिपाले मादल, जममोर्चाले गिलास र नेपाल समाजवादी पार्टीले खुलेको एक आँखा चुनाव चिन्ह प्रदान गरिएको छ । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरेको छैन ।

त्यसैगरी, आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि चिन्ह भने सम्बन्धित दलको निर्वाचन चिन्ह नै कायम गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार