तमू पत्रकारिता पुरस्कारबाट ६ जना पत्रकार पुरस्कृत

  गौरीशंकर टाइम्स सम्वाददाता  229 पटक हेरिएको

काठमाडौं । तमू(गुरूङ) सन्चारकर्मी संघ (एटजोन) केन्द्रीय समितिले वार्षिक पत्रकारिता पुरस्कार वितरण गरेको छ । एटजोनले देशभरिका गुरुङ तथा गैरगुरुङ उत्कृष्ट पत्रकारलाई विभिन्न विधाको पत्रकारिता पुरस्कार वितरण गरेको हो ।

एटजोनले बुधवार तमू बौद्ध सेवा समितिका कार्यलयमा ल्होसारको शुभकामना कार्यक्रम आयोजना गरी पत्रकारिता पुरस्कार वितरण गरेको हो । तमू पत्रकारिता पुरस्कार २०८० अन्र्तगत पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरूङ तथा श्रीमती कमला गुरूङ पत्रकारिता पुरस्कारबाट चितवनका पत्रकार हिरालाल गुरूङ र पोखराका पत्रकार मानबहादुर घर्तिमगर ९एमबि आस्था० पुरस्कृत भएका हुन् । अर्का सुश्री भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कार तनहुँकी पत्रकार करिष्मा गुरूङ, तमू ल्होछार मूल आयोजक समितिद्वारा प्रायोजित तमु पत्रकारिता पुरस्कार तेह्रथुमका पत्रकार विकास गुरूङ, लक्ष्मी गुरूङ पत्रकारिता पुरस्कार थाहा खबरका कार्टुनिस्ट अनुप गुरूङ र तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनकी रत्ना गुरुङ पुरस्कृत भएका छन् । यस वर्षको गैरगुरुङ पत्रकारिता पुरस्कार पोखराका मानबहादुर घर्तीमगर (एमबि आस्था) पुरस्कृत भएका छन् ।

एटजोनका केन्द्रीय अध्यक्ष चित्र बहादुर गुरुङ (लाला)को अध्यक्षतामा सम्पन्न पत्रकारिता पुरस्कार वितरण कार्यक्रम राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङको प्रमुख अतिथ्यतामा रहनु भएको थियो । कार्यक्रममा एटजोनका संस्थापक अध्यक्ष गणेशमान गुरुङ, पूर्वअध्यक्षद्धय दण्ड गुरुङ, रविन गुरुङ, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय अध्यक्ष कर्ण बहादुर गुरुङ, महासचिव डम्बर बहादुर गुरुङ, तमू ल्होसार महोत्सव मुल आयोजक समितिको संयोजक लोक बहादुर गुरुङ, महासचिव रामबहादुर गुरुङ लगायत तमू संघसस्थाका प्रतिनीधि र तमू सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले आज एक समारोहबीच उनीहरुलाई पुरस्कृत गरे । सो अवसरमा उनले पत्रकारले खोजमूलक समाचार लेखेर नागरिकलाई सुसूचित गर्नुपर्ने बताए । सूचनाको हकको प्रयोग गरी रिपोर्टिङ गरेमा सही सूचनाहरू बाहिर आउने हुनाले त्यसको प्रयोग गर्न उनले पत्रकारलाई आग्रह गरे । उहाँले गुरुङ तथा गैरगुरुङ र सबै नेपालीलाई राष्ट्रिय पर्व तमू ल्होसारको शुभकामना समेत व्यक्त गरे ।

एटजोन केन्द्रीय समितिले तमू पत्रकारिता पुरस्कार २०८० छनौट गर्न संस्थापक कोषाध्यक्ष अनिता गुरुङको संयोजकत्वमा तीन सदस्य समेत गठन गरेको थियो । पुरस्कार छनौट समितिकै सिफारिसमा देशभरीका सक्रिय गुरुङ तथा गैरगुरुङ पत्रकारलाई पुरस्कार वितरण गरिएका हुन् । तमू पत्रकारिता पुरस्कारबाट स्थापनाकालदेखि हालसम्म ६० भन्दा बढि गुरुङ तथा गैरगुरुङ पत्रकार पुरस्कृत भैइसकेको पुरस्कार छनौट समितिका संयोजक अनिता गुरुङले बताइन् ।

त्यसैगरी, एटजोनले हरेक वर्ष तमू ल्होसारको अवसर पारेर पत्रकारिता पुरस्कार वितरण गरिदै आएको छ । सो अवसरमा तमू वर्ष पुस्तक गुरुङन्युज डटकमको छापा संस्करण समेत लोकार्पण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार