तमू ल्होसारका तयारी पुरा, टुँडिखेलमा विविध कार्यक्रम गरि मनाईदै

  गौरीशंकर टाइम्स सम्वाददाता  622 पटक हेरिएको

काठमाडौं । गुरुङ जातिले आफ्नो राष्ट्रिय पर्व तमू ल्होसार पुस १५ गते धूमधामका साथ मनाउने तयारी गरेको छ । ल्होसार मुल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरी ल्होसार कार्यक्रमका तयारी पूरा भएको जानकारी दिएको हो ।

गुरुङको थातथलो, मौलिक पहिचानको संरक्षण र सरकारी कामकाजी भाषा तमु भाषा घोषणाका लागि तमुवानको आन्दोलन भन्ने मूलनाराका साथ काठमाडौँको टुँडिखेलमा तीन दिन पुस १३ देखि १५ गतेसम्म भव्य रूपमा महोत्सव मनाउन लागिएको तमु ल्होसार मूल आयोजक समितिका महासचिव रामबहादुर तमूले जानकारी गराउनुभयो । गुरुङ समुदायले हि ल्हो (बिरालो वर्ग) को बिदाइ गरी मुप्री ल्हो (गरुड वर्ग) को स्वागत गर्दै तमु ल्होसार २०८० मनाउन लागेको हो ।

ल्होसार मुल आयोजक समितिका महासचिवका अनुसार पुस १३ गते खुल्ला लोकदोहोरी प्रतियोगिता, पुस १४ गते खेलकुद कार्यक्रम तथा हि ल्हो (बिरालो वर्ग) को बिदाइ गर्दै मुप्री ल्हो (गरुड वर्ग) वर्षमा सबैको शुभ होस् भनी आफ्ना परम्परागतअनुसार खेगी (पुरोहित) हरू, मच्यु, क्ल्हेप्री, वोन्पो लम र लामाद्वारा राति १२ बजेसम्म दुःख, ग्रहदशा शान्तिपूजा गरी पुस १५ गते बिहानीको झुल्के घाममा नयाँ वर्गको स्वागत गर्ने बताए । संघीय सरकारले साँस्कृतिक पर्व तमू ल्होसारलाई राष्ट्रिय पर्व घोषणा गरिएको हुदाँ सो दिन सार्वजनिक विदा घोषणा गरेको छ । तर तमू समुदायका अगुवा तथा बुद्धिजीविहरुले ल्होसारमा तीन दिन विदा दिइनु पर्ने माग राखेका छन् ।

त्यस्तै पौष १५ गते बिहान ९ बजे वसन्तपुरबाट झाँकी तथा र्याली सुरु भई टुँडिखेलस्थित कार्यक्रम स्थलमा पुगी दिनको १२ बजे औपचारिक कार्यक्रमको समुद्घाटन समारोह हुनेछ । तमू ल्होसारको औपचारिक कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने तयारी गरेको छ । औपचारिक कार्यक्रम समापनपछि पुनः साँस्कृतिक कार्यक्रम दोहोरीको फाइनल प्रतियोगिता हुनेछ ।

त्यसैगरी, तमू ल्होसार मूल आयोजक समितिका संयोजक लोकबहादुर गुरुङले यस वर्षको ल्होसार काठमाडौंको टुँडिखेलमा पुस १३ देखि १५ गतेसम्म भव्य रुपमा मनाउन लागेको जानकारी दिए । विगतका वर्षझैँ यस पटक पनि काठमाडौँको टुँडिखेलमा हजारौँ तमू लगायत अन्य जातिको पनि उपस्थितिमा धूमधामका साथ ल्होसार मनाउने तयारी गरेको संयोजक गुरुङले जानकारी दिए । गुरुङ समुदायले हरेक वर्ष पुस १५ गते नयाँ वर्षका रूपमा मनाउने गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार