अप्पर तामाकोसीले आजदेखि १ करोड ७० लाख कित्ता सेयर लिलाम बिक्री खुलायो

  गौरीशंकर टाइम्स सम्वाददाता  182 पटक हेरिएको

काठमाडौं । अप्पर तामाकोसी हाइड्रोपावरले माग बमोजिमको सेयर बिक्री नभएपछि अवितरित सेयर लिलामीबाट बिक्री खुलाएको छ । काम्पनीले आजदेखि १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा बिक्री खुलाएको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । त्यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लिलाम सेयर खरिदका लागि आवेदन पौष १३ गते शुक्रवारदेखि २९ गतेसम्म तोकिएको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र नागरिक लगानी कोषलाई नियुक्त गरेका छन् । कम्पनीले यसअघि गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । सो बेला आवेदन नपरेको सेयरलाई कम्पनीले लिलामी मार्फत विक्री गर्न लागेको हो । हकप्रदमा सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्रै आवेदन परेको थियो ।

लिलामी सेयरमा आवेदन दिन इच्छुक लगानीकर्ताले बिक्री प्रवन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलको कार्यालयमा आवेदन फारम लिन र फारम भरेपछि सोही कार्यालयमा बुझाउन सक्नेछन् । इच्छुक व्यक्ति तथा संघसंस्था लगानीकर्ताले पुस १३ गतेदेखि २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धक नागरिक लगानी कोष, सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंक शाखा कार्यालयमा आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर खरिदका लागि प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ मूल्य नघट्ने गरी आवेदन बुझाउनुपर्ने बिक्री प्रवन्धकले जनाएको छ । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । ५ लाख रुपैयाँभन्दा बढी रकमको आवेदन दिनेले लगानीकर्ताले भने प्यान नम्बर अनिवार्य खुलाउनुपर्नेछ । बिक्री प्रवन्धकका अनुसार मूल्य बढाबढका आधारमा कम्पनीको सेयर बाँडफाँट हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार