तमू ल्होसारको उल्लासमय बन्यो राजधानी, प्रधानमन्त्री ‘प्रचण्ड’द्धारा सम्बोधन

  गौरीशंकर टाइम्स सम्वाददाता  281 पटक हेरिएको

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज (पुस १५ गते) ‘तमू ल्होसार’ भव्य रुपमा मनाएका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई गुरुङ समुदायले ‘तमु ल्होसार’ मनाएको हो ।

तमू ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले आयोजना गरिएको ल्होसार पर्व राजधानीस्थित टुँडिखेलमा भव्यताका साथ मनाएका हुन् । गुरुङ समुदायका बसन्तपुरबाट सुरु भएको ल्होसार झाँकी र्याली भोटाहिटी, घण्टाघर, पुरानो बसपार्क, भद्रकाली, सहिदगेट र एनएसी हुदै टुँडिखेलस्थित कार्यक्रमस्थलमा पुगेको थिए । गुरुङहरुले मौलिक भेषभुषा, रितीरिवाज, साँस्कृतिक लगायत प्रचलनमा ल्याइने सामाग्रीहरु कोइबो धीँ, चर्खा, तान बुन्ने मेसिन, साँस्कृतिक नृत्य लगायतको प्रर्दशन सहित कार्यक्रमस्थलमा पुगेको थियो ।

कार्यक्रमका प्रमुख अथिति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टुँडिखेलमा आयोजित तमू ल्होसार-२०८० को मुल समारोहलाई उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख अथिति प्रधानमन्त्री दाहाललाई आयोजकले गुरुङ संस्कार अनुसारका पहिरन पर्हियाइदिएका थिए ।

तमू ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्य मनाउँने गरेका छन् । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत लगायत देशका विभिन्न भागमा मनाइन्छ । आइतबार काठमाडौँको टुँडिखेलमा आयोजित तमू ल्होसारको मुल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रियताको संवर्द्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहने बताउनुभएको भयो ।

उहाँले नेपालका मौलिक चाडपर्वले नेपालीका बिचमा सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बताउने बताउनुभयो । उहाँले विभिन्न जाति एवम् समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले टुँडिखेलमा तमू ल्होसार मनाएकालाई साँझमा कुनै अवरोध नगर्न सुरक्षा निकायलाई निर्देशन दिनुभयो । उहाँले कार्यक्रमलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी, तमू ल्होसार तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइन्छ । पौष १३ देखि सुरुभएको ल्होसार १५ गते मध्येरातीसम्म मनाउने गुरुङहरुको प्रचलन रहेको छ । काठमाडौँ लगायत देशका अधिकांश स्थान र विदेशमा समेत यस पर्वको रौनक देखिएको छ । ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार