दोलखामा विगुका जनप्रतिनीधिद्धारा नयाँ हिमाल छोपा बामरेको सफल आरोहण

  किशोर कुमार गुरुङ  545 पटक हेरिएको

दोलखा । विगु गाउँपालिकाका जनप्रतिनिधिको टिमले छोपा बामरे हिमालको सफल आरोहण गरेर फर्किएका छन् । विगु गाउँपालिका १ स्थित लामाबगरको उत्तरपश्चिममा अवस्थित ६,१०९ मिटर उचाईको नयाँ हिमाल अध्यक्षको टिमले सफल आरोहण गरेका हुन् ।

गाउँपालिका अध्यक्ष सञ्जिव ओलीसहितको ९ सदस्यीय टोली गत पुष ९ गते हिमाल आरोहणका लागि लामाबगर हुदै त्यस तर्फ प्रस्थान गरेका थिए । पालिका अध्यक्ष ओलीसहितको टोली हिमाल आरोहण गरी ८ दिनपछि आइतबार लामाबगर आइपुगेका हुन् ।

हिमाल आरोहणका लागि सगरमाथा आरोही लिला बहादुर बस्नेत र निमा ग्याल्जेन शेर्पाको नेतृत्वमा विगु गाउँपालिका अध्यक्ष सन्जिव ओली, फुर्वाठिले शेर्पा, भविन्द्र खड्का र लाक्पागेली शेर्पालगायतका टोली छोपा बामरे हिमालको चुचुरोमा पुग्न सफल भएका थिए । हिमाल आरोही दलले पौष १३ गते शुक्रवार विहान ९ः३० बजे सफल आरोहण गरेर फर्किएको हिम आरोही निमा ग्याल्जेन शेर्पाले बताए । आरोही शेर्पाका अनुसार दोलखाका असंख्य हिमचुचुरामध्ये छोपा बामरे भर्जिन हिमाल भएको र पहिलो पटक आफुहरुले सफल आरोहण गरेको समेत बताए ।

नयाँ हिमाल आरोहणले दोलखाको पर्वतीय पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै पालिका अध्यक्ष ओलीले छोटो समयमा सहज रुपमा पुग्न सकिने र रमणीय हिमाल भएकाले हिमाल आरोहीहरुलाई छोपा बामरेको आरोहणमा आउन आह्वान गरेका छन् ।

विगु गाउँपालिका १ स्थित लामाबगरको उत्तरपश्चिम अन्र्तगत चीन सिमाना नजिकै अवस्थित ६,१०९ मिटर उचाईको उक्त हिमालबाट गौरीशंकर, सगरमाथा, मकालु, चोयु, लोत्से लगायतका ८ हजार मिटरभन्दा माथिका हिमालसमेत अवलोकन गर्न सकिने आरोहण दलका टोली प्रमुख लिला बहादुर बस्नेतले जानकारी दिए । नयाँ हिमाल भएता पनि आरोहण दलमा अनुभवी टोली भएकाले कुनै बाधा नपरेको टोली प्रमुख बस्नेतले बताए ।

त्यसैगरी, विगु गाउँपालिकाले पर्यटन प्रबद्र्धनका लागि जनप्रतिनीधि सहितका टोलीद्धारा सफल आरोहण गरी छोपा बामरे हिमालको प्रचार गरेका हुन् । सो हिमालको पथयात्रा हिमालयन शेर्फर्ड इको ट्रेक्स एण्ड एक्सपिडिसन र डोल्मा आउटडोर्स एक्सपिडिसन प्रा.लि.को सहकार्यमा सम्पन्न गरेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार