हिमपात नहुँदा काला पत्थर बन्दै गौरीशंकर, बारीमै सुक्न थाले हिउँदे बाली

  गौरीशंकर टाइम्स सम्वाददाता  312 पटक हेरिएको

किशोर कुमार गुरुङ
दोलखा । यस वर्षको हिउँदे याममा वर्षा नभएपछि हिउँदे बाली खेतबारीमै सुक्न थालेका छन् । हिमपात र वर्षा नहुँदा जिल्लाको लेखदेखि बेसीसम्म लगाएको हिउँदे बाली खेतबारीमै सुक्न थालेको हो ।

हिउँदे वर्षा र हिमपात नभएपछि डाँडापाखाहरु कालापत्थर जस्तै देखिन थालेको स्थानीयहरुको भनाइ छ । यतिबेला जिल्लाका गौरीशंकर, कालिञ्चोक, शैलुङ, खरिढुंगा, जिरी, चेर्दुङ, सोंथली, दाल्दुङ, रोल्वालिङ हिमशृङ्खला र च्छोरोल्पा हिमताल लगायतका ठाउँहरु हिउँले सेताम्मे ढाकिनुपर्ने समयमा हिमपात नहुँदा कालापत्थर जस्तै नाङ्गिन थालेका छन् । यसअघिका वर्षहरुमा बाह्रै महिना चाँदीझै टल्कने गौरीशंकर हिमाल हिउँको मात्र घट्दै जादाँ काला पत्थर जस्तै देखिन थालेको छ । पौष महिनाको अन्तिम र माघ लाग्दै गर्दा समेत हिउँदे वर्षा हुने कुनै संकेतनै छैना ।

समयमै हिउँदे वर्षा तथा हिउँ नपर्दा पानीका मूल सुक्ने, असिना पर्ने र त्यसले बालीनालीमा क्षति गर्ने भएकाले पनि जिल्लामा खेतीपाती गरी खाने किसान हिउँदे वर्षा र हिमपातको प्रतीक्षामा रहेका छन् । सिँचाइको अभावले र ढिला हिमपात हुँदा अन्नबालीको उब्जनी घट्ने भएकाले कृषकका लागि समयमै वर्षा र हिमपातको महत्त्व रहेको छ । जिल्लाका अधिकांश जमिन आकाशे पानीको भरमा सिँचाइ गर्नुपर्ने बाध्यता भएकाले समयमै वर्षा र हिमपात नहुँदा उत्पादनमा ह्रास आउने निश्चित भएको छ ।

यसअघिका वर्षहरुमा मंसिरदेखिनै हिउँदे वर्षा भई पौष महिनामा ढपप्कै हिउँ पर्ने गरिन्थ्यो । जसले गर्दा किसानले लगाएको गहुँ, जौँ, उवा लगायतका हिउँदे बालीहरु प्रशस्त हुने र उत्पादनमा पनि बृद्धि हुने गरिन्थ्यो । विस्तारै समयको परिर्वतन र खडेरीले गर्दा हिमालदेखि तराईसम्मको खेतिपाति उत्पादनमा ह्रास आई देशमा भोकमरी नै नलाग्न भन्न सकिदैन् ।

पुसदेखि माघसम्म सेताम्मे देखिनुपर्ने हिमालमा यस वर्ष हिमपात नहुँदा हिउँ पग्लिएर हिउँको मात्रा घट्दैगएको छ । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्ष रूपमा पारेको स्थानीयवासीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार