दोलखाको लप्चि दुर्घटना अपडेट: सुख्खा पहिरोले नभई बिष्फोटक पदार्थ बिष्फोट गराउँदा दुर्घटना

  गौरीशंकर टाइम्स सम्बाददाता  174 पटक हेरिएको

दोलखा । लप्चि जलबिधुत आयोजनाको सडक निर्माणका क्रममा भएको घटना सुख्खा पहिरोले नभई बिष्फोटक पदार्थ बिष्फोट गराउने क्रममा भएको स्थानीयले बताएका छन् । लप्चि जलबिधुत आयोजनाको सडक निर्माणमा काम गर्ने मजदुरहरुले भीर फुटाउन प्रयोग गरिने बिष्फोटक पदार्थ बिष्फोट गराउने क्रममा घटना घटेको बताएका हुन् ।

लप्चि जलबिधुत आयोजनाको प्रवेश मार्ग निर्माणको क्रममा लामावगरको देउरालीमा सोमबार दिउँसो सुख्खा पहिरो खसेको र सोही पहिरोमा पुरिएर एक जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएको नासा हाइड्रोले जनाएको थियो । सोही आधारमा दोलखा प्रहरीले पनि पहिरोमा पुरीएर कामदारको मृत्यु र घाइते भएको बताएका थिए ।

सोहि आयोजनामा काम गर्ने अन्य मजदुरहरू घटनास्थलवाट जङ्गलको कठिन बाटो हुँदै मंगलबार लामावगर आईपुगेका थिए । लामाबगर आइपुगेका मजदुरहरुले सुख्खा पहिरोले नभैई बिष्फोट गराउने क्रममा ढुँगाले लागेर एक जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको बताएका हुन् ।

उनीहरुले नासा हाइड्रोले दिएको जानकारी जस्तो घटनास्थल नजिक सुख्खा पहिरो नखसेको दावी गरेका छन् । लामाबगरवाट लप्चि जाने सडकको देउराली भन्ने स्थानमा मात्रै सुख्खा पहिरो खसेको उनीहरुले दावी गरे । सो पहिरोले कुनै मानवीय क्षति नगरेको समेत बताए ।

आयोजनाले सडकमा काम गर्ने मजदुरहरुलाई पर्याप्त सुरक्षा सामाग्री नदिएको र जोखिमपूर्ण काम गर्नु पर्दा घटना घटेको उनीहरुको भनाई छ । बिष्फोटमा परेर स्थानीय कामदार २२ बर्षीय कुसङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक जीवन श्रेष्ठले बताउनु भयो । सोहि बिष्फोटमा परि अर्का दुईजना कामदार २८ बर्षिय दिलकुमार तामाङ र ५८ बर्षिय रसमान तामाङ घाईते भएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनु भयो ।

श्रोतका अनुसार बिष्फोटक पदार्थ बिष्फोट गराउने क्रममा ज्यानै जाने घटना घटेपछि लप्चि जलबिधुत आयोजनाको फिल्डमा खटिएका कर्मचारीहरुले पहिरो खसेर घटना घटेको भनी माथिल्लो निकायमा गलत रिर्पोट गरेका थिए ।

लामाबगरको लप्चिमा नासा हाइड्रोले १६० मेगावाट क्षमताको लप्चि जलबिधुत आयोजना निर्माण गर्न लागेको छ । त्यसकालागि लामाबगरवाट लप्चिसम्मको करिव २० किलोमिटर सडक निर्माणको काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार