लप्चि हाइड्रो र मृतकका परिवारविच सहमति, विरोधको सबै आन्दोलन फिर्ता

  गौरीशंकर टाइम्स सम्वाददाता  204 पटक हेरिएको

दोलखा । नासा हाइड्रोले निर्माण गरिरहेको लप्चि जलबिद्युत आयोजनाको प्रवेश मार्ग निर्माणका क्रममा मृत्यु भएका युवकको परिवार र निर्माण कम्पनी विच सहमति भएको छ । सडक निर्माण कम्पनी, मृत्तकका आफन्तजन र घाइतेका परिवार विच शुक्रबार लामाबगरमा भएको वार्तामा क्षतिपूति दिने र निःशुल्क उपचार गरिदिने भएपछि दुई पक्षविच सहमति भएको हो ।

नासा हाइड्रोले मृत्तकका परिवारलाई ७ लाख र इन्स्योरेन्स १३ लाख गरी २० लाख रुपैयाँ क्षतिपूर्ति दिने र घाइतेलाई निःशुल्क उपचार गर्ने दुई पक्षविच सहमति भएको दोलखा प्रहरी प्रमुख दिपक खड्काले जानकारी दिनुभयो । नासा हाइड्रोले क्षतिपूर्ति दिने र घाइतेलाई उपचार गराउने सहमति भएपश्चात मृतकका आफन्तजनले घटना भएको ५ दिनपछि शव बुझेका प्रहरी प्रमुख खड्काले वताए ।

निर्माणाधीन बिगु गाउँपालिका–१, लप्चि जलबिद्युत आयोजनाको लामावगर–लप्चि सडक अन्तर्गत हुरहुरेमा भीर फुटाउन बिष्फोट गराउने क्रममा सोमवार बिगु गाउँपालिका–१, ठाडीका १९ वर्षीय कामदार कुसाङ तामाङको घटनास्थलमै मृत्यु भएको थियो । सोही घट्नामा २२ वर्षीय रसमान तामाङ र २८ वर्षीय दिलकुमार तामाङ गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएकाहरुको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।

घट्नामा मृत्यु भएका युवकको शवलाई मंगलवार हेलिकोप्टर मार्फत सदरमुकाम चरिकोट ल्याएर शव गृहमा राखिएको थियो । परिवारका सदस्य नआएका कारण शव ५ दिनदेखि शव गृहमै थन्किएका थिए । तर शुक्रबार हाइड्रो र मृत्तक, घाइतेका परिवारबीच सहमति भएपछि तामाङको शव आफन्तले बुझेका हुन् । लप्चि हाइड्रोका कर्मचारीले लामाबगरको देउरालीमा सुख्खा पहिरोले पुरिएर कामदार युवकको मृत्यु र दुई घाइते भनि गलत सुचना दिएको थियो । सो घटनाको दुई दिनपछि प्रत्यक्षदर्शी कामदारको भनाई र भिडियो मार्फत सडक निर्माणको क्रममा विष्फोटक पदार्थ विष्फोटमा परी मृत्यु भएको पुष्टी भएका थिए ।

त्यसैगरी, हाइड्रो र सडक निर्माण कम्पनीसँग सहमति भएसँगै विरोधका सम्पूर्ण आन्दोलन फिर्ता भएको छ । पाँच दिनदेखि मृतक र घाइतेका आफन्तजनले हाइड्रो निर्माण कम्पनीको कार्यलय तोडफोड तथा घेराउ गरी विरोध गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार