स्वस्थानी व्रतकथा आजदेखि सुरु

  गौरीशंकर टाइम्स संवाददाता  68 पटक हेरिएको

काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा पूजा आजबाट सुरु भएको छ । हिन्दु परम्परा अनुसार आज बिहानै माघ स्नान गर्ने र श्रद्धा भक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा भन्ने, सुन्ने र सुनाई स्वस्थानी व्रतकथा आरम्भ गरिन्छ ।

स्वस्थानी व्रतका बेला देशैभर शिवालय र शक्तिपीठहरुमा दर्शनार्थीको मेलासमेत लाग्ने गर्दछ । काठमाण्डौँस्थित शालीनदीमा आजदेखि माधवनारायण मेला पनि सुरु भएको छ ।

घरपरिवारको सुस्वास्थ्य र सुख शान्तिको कामना गर्दै शालीनदीमा महिलासँगै पुरुषसमेत व्रत बस्ने परम्परा छ । माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पुण्य मिल्ने धार्मिक विश्वास छ ।

त्यसैले आजको दिनबाट व्रतालुहरुले सरसफाई र स्नान गरी शुद्ध वस्त्र पहिरिएर व्रतको शुरुआत गरिन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा रहेकोछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार