दशौं राष्ट्रपति रनिङ शिल्डको विजेता जिरी नगरपालिका

  गौरीशंकर टाइम्स संवाददाता  130 पटक हेरिएको

दोलखा । दोलखाको उत्तरी प्रशासनिक केन्द्र सिंगटीमा सञ्चालन भएको १०औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड जिरी नगरपालिकाले जितेको छ । सिंगटीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ८ स्वर्ण, ५ रजत र ४ काँस्य गरी १७ पदकसहितको उपाधि जिरी नगरपालिकाले जितेको हो ।

जिरीले नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाएको पाएको छ । प्रतियोगीतामा ६ स्वर्ण, ६ रजत र ८ कास्य गरी २० पदकसहित सह–आयोजक विगु गाउँपालिकाले दोस्रो स्थान हासिल गरी २० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । त्यसैगरी ५ स्वर्ण, २ रजत र २ कास्य गरी ९ पदकसहित तामाकोसी गाउँपालिकाले १० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।

प्रतियोगीतामा सहभागि भिमेश्वर नगरपालिकाले १ स्वर्ण, ४ रजत र ४ कास्य गरी ९ पदक, बैतेश्वर गाँउपालिकाले ४ स्वर्ण, ४ रजत र ४ कास्य गरी १२ पदक, मेलुङ गाँउपालिकाले १ स्वर्ण र १ कास्य गरी दुई पदक, शैलुङ गाँउपालिकाले २ स्वर्ण, ४ रजत र ३ कास्य गरी ९ पदक, कालिञ्चोक गाँउपालिकाले २ स्वर्ण, ६ रजत र ४ कास्य गरी १२ पदक तथा गौरीशंकर गाँउपालिकाले १ स्वर्ण र १ कास्य गरी २ पदक जितेको दोलखा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामहरि शिवाकोटीले बताउनु भयो ।

प्रतियोगितामा विजयी टिम तथा खेलाडीहरुलाई बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो । पुरस्कार वितरण कार्यक्रममा जिरी नगरपालिकाका नगरप्रमुख मित्र जिरेल, सह–आयोजक विगु गाँउपालिकाका प्रमुख सञ्जीव ओली, मेलुङ गाँउपालिकाका प्रमुख हिरा थोकर, गौरीशङ्कर गाँउपालिकाका प्रमुख विश्वास कार्की, शैलुङ गाँउपालिकाका प्रमुख रिमालबाबु श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

दोलखा जिल्ला खेलकुद विकास समितिको आयोजना र बिगु गाउँपालिकाको सह–आयोजनामा सम्पन्न प्रतियोगितामा भलिबल, दौड, कपर्दी, हाईजम्प, ट्रिपल जम्प, सटफुट, ज्याबलिङ थ्रो लगायतका खेल भएका थिए । प्रतियोगितामा जिल्लाका ९ वटै स्थानीय तहका खेलाडीहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार