आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइँदै

  गौरीशंकर टाइम्स संवाददाता  142 पटक हेरिएको

काठमाडौं । देश र जनताका लागि सहादत प्रदान गर्ने सहिदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी मंगलबार शहीद दिवस मनाइएको छ । जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” संघीय सरकारका मन्त्रीहरू, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललगायत जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीले प्रभातफेरि गरेर शहिद स्मारक लैनचौरमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरी शालिकमा पुष्पगुच्छा तथा माल्यार्पण गरेका थिए ।

इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका सपुतहरूको सम्मानमा माघ १६ गते विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाउने गरिन्छ । प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए ।

शहीद दिवसको अवसरमा काठमाडौंको लैनचौरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरु विगत, वर्तमान र भविष्यका निम्ति समेत सबैका लागि प्रेरणाका श्रोत र पथप्रदर्शक रहेको बताए । आजको दिन महान शहीदहरुको स्मरणका साथै देश र जनताको मुक्ति एवं प्रगतिका निम्ति उनीहरुले देखेको सपना र गरेको अठोटलाई शीरोधार्य गर्दै क्रान्तीका बाँकी कार्यभार पूरा गर्न संकल्प गर्न प्रधानमन्त्रीले आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले शहीदका सपना पूरा गर्न मन, वचन र कर्मले सबै क्रियाशील रहन आवश्यक रहेको बताए ।

त्यसैगरी, वि.स.२०१२ सालदेखि नै काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउने गरिन्छ । आज देशभरका विभिन्न स्थानमा शहीदको स्मरणमा विभिन्न कार्यक्रमहरु गरेर शहीद दिवस मनाइँदै छ । नेपालमा हालसम्म विभिन्न राजनीतिक आन्दोलनका क्रममा मारिएका करिव १२ हजारलाई सरकारले औपचारिक रुपमा शहीद घोषणा गरिसकेको छ । पछिल्लो पटक मंगलबार सरकारले द्धन्दका क्रममा मारिएका २ हजार ८ सय सुरक्षाकर्मीलाई शहीद घोषणा गरेकोछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार