अप्पर तामाकोशीको सेयर नपाएका लगानीकर्ताको ४.५ अर्ब होल्ड, बिक्री प्रबन्धकले विना ब्याज चलाए

  गौरीशंकर टाइम्स संवाददाता  315 पटक हेरिएको

काठमाडौं । मानिसहरु फण्डको अभावमा फिट्फिटी परिरहेका छन् । लगानीकर्ताको ठूलो रकम लामो समयसम्म फिर्ता नहुँदा ब्रोकरहरुमा उधारोमा कारोबार गर्ने बाध्यता समेत उस्तै छ । बजार बढेको समयमा आफूसँग भएको रकम समेत लगानी गरी केही कमाउने बेलामा दुई संस्थाहरुले भने लगानीकर्ताको करिब साढे ४ अर्ब रकम १५ दिनदेखि होल्ड गरिरहेका छन्, त्यो पनि बिना ब्याज ।

अप्पर तामाकोशीको सेयर खरीदका लागि अक्सन प्रक्रियामा सहभागी भए पनि सेयर नपरेका लगानीकर्ताको मात्रै करिब साढे ४ अर्ब रुपैयाँ करिब १५ दिनदेखि बिक्री प्रबन्धकको काम गरिरहेका नागरिक लगानी कोष र लक्ष्मी सनराइज९एलएस० क्यापिटलले होल्ड गरेर राखेका हुन् । बिनाब्याज करिब साढे ४ अर्ब दुई बिक्री प्रबन्धकले होल्ड गरेपछि बजारमा यसको व्यापक विरोध सुरु भएको छ ।

पीडितमध्येका एक लगानीकर्ता मधुसुदन श्रेष्ठले कटअफ मूल्य १४६ रुपैयाँ आए पछि त्यहाँभन्दा कम रेट राखेर बोलपत्र पेश गर्नेहरुको पैसा पनि हालसम्म फिर्ता नभएकोमा आपत्ति जनाए । उनले भने–‘बिक्री प्रबन्धकहरुले १५ दिन भन्दा बढी समयदेखि लगानीकर्ताको ४ अर्ब ५० करोड रुपैयाँ सित्तैमा चलाएका छन् । यो त सिधैं लूट नै भयो ।’

सो अक्सनको नाममा गूड फर पेमेन्ट र नगद गरेर करिब १० अर्ब बढी रकम उठेको थियो । कटअफ मूल्य १४६ रुपैयाँ आएपछि त्यहाँभन्दा कम रेट राखेर अक्सनमा सहभागी हुने सबै लगानीकर्ताको पैसा क्यापिटलले तुरुन्तै फिर्ता गर्नुपर्ने थियो । ‘गूड फर पेमेन्टको पैसा तान्नुपर्ने पनि थिएन । तान्नु नपर्ने पैसा पनि तानियो । आबेदन दिएको मितिदेखि हिसाब गर्ने हो भने लगानीकर्ताहरुले एक महिनाभन्दा बढी पैसा होल्ड गरिएको छ ।’ सेयर पर्नेहरुको हकमा ठीकै भएता पनि नपर्नेहरुको हकमा भने ४ अर्ब ५० करोड रुपैयाँको ब्याजसहित पैसा फिर्ता गर्नुपर्ने लगानीकर्ताहरुले माग गरेका छन् ।

सेयर नपाउनेहरुको ठूलो रकम नियोजित ढंगले होल्ड गरेर राखिएको लगानीकर्ताको दाबी छ । बिक्री प्रबन्धक कम्पनीका अधिकारीहरुले भने बिहीबार अपर तामाकोशीको अक्सन प्रक्रियाअन्तरगत अन्तिम बाँडफाँड भई आगामी साताभित्र लगानीकर्ताको पैसा उनीहरुको खातामा फिर्ता हुने जनाएका छन् ।

स्रोतः विजशाला

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार