वैदेशिक रोजगारीमा सर्वसाधारणको ६ करोड ठग्ने सुजन तामाङ पक्राउ

  गौरीशंकर टाइम्स संवाददाता  28 पटक हेरिएको

काठमाडौं । युरोपका देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै ६ सय जनाभन्दा बढी सर्वसाधारणलाई ठगी युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी ललितपुरको कन्जोसोम गाउँपालिका ४ घर भइ इमाडोल बस्दै आएका ३२ वर्षका सुजन तामाङलाई सार्वजनिक गरेको हो ।

तामाङले काठकाडौंको बालाजु चोकमा युरो विंग्स एजुकेशन कन्सलटेन्सी सञ्चालन गरी आफूलाई विकास वाइबाको नक्कली परिचय दिइ युरोपियन मुलुक पठाइदिन्छु भन्दै ६ सय बढी सर्वसाधारणसँग करोडौँ रुपैयाँ ठगी गरेको प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले बताए ।

प्रहरी नायब उपरीक्षक घिमिरेका अनुसार तामाङ वैदेशिक रोजगार कसुर सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भइ फरार रहेका थिए । तामाङले ६ सयभन्दा बढी सर्वसाधारणबाट ५० हजारदेखि ५ लाखसम्म रकम लिएको घिमिरेले बताएको छ ।

उनले ठगी गरेको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ती म्यानपावर वसुन्धारामा ५० प्रतिशत शेयर लिएको, हुण्डाईको क्रेटा गाडी खरिद गरेको, भाइको खातामा १५ लाख ५० हजार जम्मा गरेको, जलविद्युत सहकारी संस्थाबाट लिएको १५ लाख ऋण तिरेको र ५ लाखको सुनको ब्रास्लेट खरिद गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

तामाङले माल्टा, पोल्याण्ड, क्यानडा, क्रोशिया, रोमानिया लगायतका युरोपका देशहरूमा आकर्षण तलबको प्रलोभन देखाई ६ सय जनाभन्दा बढी सर्वसाधारणलाई ठगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यसैगरी, पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार