गौरीशंकर स्वास्थ्य चौकी निर्माण भएको एक वर्षपछि उद्धघाटन

  गौरीशंकर टाइम्स संवाददाता  205 पटक हेरिएको

दोलखा । गौरीशंकर गाउँपालिका–९, सिमीगाउँमा नवनिर्मित स्वास्थ्य चौकीको भवन उद्घाटन गरिएको छ । नवनिर्मित गौरीशंकर स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको एक वर्षपछि आज उद्धघाटन गरिएको हो ।

स्वास्थ्य चौकी भवनको मंगलवार गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले उद्घाटन गरेका हुन् । कार्यक्रममा गौरीशंकर गाउँपालिका ९ का वडाध्यक्ष ङिमागेलि शेर्पा, सिमिगाउँ स्वास्थ्य चौकी इन्चार्ज धर्मेन्द्र हमाल, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।

सो स्वस्थ्य चौकीमा भुकम्पपछि ३ कोठे अस्थायी भवनबाट बिरामीले सेवा दिदै आएका थिए । आफ्नै वडामा सुविधासम्पन्न पक्की स्वास्थ्य चौकीको भवन बनेपछि सेवाग्राहीलाई सहज र सुलभ रुपमा सेवा प्रदान गर्न सकिने स्वस्थ्य चौकी इन्चार्ज धमेन्द्रजंग हमालले बताए ।

सघन सहरी तथा भवन निर्माण आयोजना मन्थली रामेछापको ३ करोड लगानीमा २ तले भवन निर्माण गरिएको थियो । २०७८ सालबाट निर्माण सुरु भएको सो भवन २०७९ कात्तिकमा निर्माण सम्पन्न भएको थियो । यस स्थानमा १० कोठाको २ तले भवन निर्माण सम्पन्न भएसँगै सिमीगाउँ, वेदिङ, नागाउँ र रिकुलगायतका स्थानीयले स्वास्थ्य सेवा पाउने छन् ।

त्यसैगरी, स्वास्थ्य चौकी भवन निर्माणका क्रममा स्थानीय कामदारलाई भुक्तानी नदिई ठेकेदार नै फरार भएपछि नवनिर्मित भवन सञ्चालनमा आउन सकेको थिएन । स्थानीय मजदुरले आफुहरुले पाउनुपर्ने ज्याला भुक्तानी नपाएसम्म कुनैपनि हालतमा सेवा सञ्चालन गर्न नदिइने अडान राखेका कारण भवन निमार्ण भएको एक वर्षभन्दा बढी बितिसक्दा पनि स्वास्थ्य चौकीको भवन प्रयोगमा आउन सकेको थिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार