गौरीशंकरमा १४ लाख बज्रगुरु मन्त्र जप्दै गुम्बाको शताब्दी उत्सव सम्पन्न, फोटो फिचरसहित

  गौरीशंकर टाइम्स संवाददाता  673 पटक हेरिएको

किशोर कुमार गुरुङ, दोलखा ।
गौरीशंकरमा ने टासी ञिङमा छोलिङ गुम्बाको शताब्दी उत्सव सम्पन्न भएको छ । गुम्बाको बौद्व धर्मानुसार जिल्लाकै दोस्रो ठुलो बज्रगुरु जप आयोजना गरि शताब्दी सम्पन्न गरेको हो ।

शताब्दी उत्सव दमे शेर्पाको अध्यक्षता र गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीको प्रमुख अतिथ्यतामा भएको हो । कार्यक्रममा ओैतरी लामा टुल्कु ङावाङ लप्सुम रिम्पोर्छे, धर्म गुरु गेसी थुप्तेन जिम्बा शेर्पा र विभिन्न गुम्बाका लामा प्रमुख लगायत प्रतिनिधिहरुको उपस्थिति थियोे ।

कार्यक्रममा एमाले गौरीशंकर पार्टी अध्यक्ष एवं समाजसेवी जंग गुरुङ, विगु गाउँपालिका उपाध्यक्ष देविका थामी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिहरुको उपस्थित थियोे ।

गुम्बा १९८० सालमा स्थापना भैइ १०० वर्ष पुगेको अवसरमा फागुन ५ देखि ७ गतेसम्म बौद्व धर्मावलम्बी बिधि अनुसार पुजापाठ गरि मनाएको थियो । तीन दिनसम्म बज्रगुरु जपमा धर्म गुरु रिम्पोर्छे र गेसी जिम्वाद्वारा संयुक्त रुपमा बिशेष पुजा, कोन्छ्योक चिदुई वाङ, छे वाङ, प्रवचन तथा ध्यान गरी शताब्दी उत्सव मनाएको गुम्बा समितिका अध्यक्ष दमे शेर्पाले जानकारी दिनुभयो । अध्यक्ष शेर्पाका अनुसार गुम्बाको बज्रगुरु जप सम्पन्न गरि मंगलबार साधारणसभा गरि शताब्दी उत्सव सम्पन्न गरेको बताए ।

बज्रगुरु जपमा गौरीशंकर गाउँपालिका, बिगु गाउँपालिका लगायत छिमेकी जिल्लाहरु सिन्धुपाल्चोक, रामेछाप, काठमाडौंको विभिन्न गुम्बा र भारतको कलिङपोङका वौद्व धर्मावलम्बीका लामा, ठावा, आनीहरु सहभागी भएको व्यवस्थापन समितिका सचिव फुर्वाठिले शेर्पाले बताए । सचिव शेर्पाका अनुसार जिल्लाकै दोस्रो ठुलो बौद्धिक, धार्मिक र शान्ति पुजा भएको बताए ।

कार्यक्रमका लागि स्थानीय सर्वसाधारणहरु, व्यक्तिगत तथा संघसंस्था आदिले नगद तथा जिन्सी सहयोग गरेको कोषाध्यक्ष पदम बहादुर श्रेष्ठले बताए । कोषाध्यक्ष श्रेष्ठका अनुसार बज्रगुरु जपका लागि बैदेशिक सहयोग समेत भएको बताए ।

त्यसैगरी, गुम्बाको ३ दिनसम्म भएको पुजामा कुल १४ लाख, १६ हजार, ११६ पटक बज्र गुरु मन्त्र जपेको प्रमुख लामा लाक्पा नुर्वु शेर्पाले बताए । बज्र गुरु जपमा एक सय भन्दा बढी लामा ठावाहरु र १ सय ५० भन्दा बढी श्रद्धालु भक्तजनहरुको उपस्थित थियो ।

फोटो फिचर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार