दुई वटा डिम्याट खाता रहेका लगानीकर्ताले आफै सेयर सार्न सक्ने

  गौरीशंकर टाइम्स संवाददाता  155 पटक हेरिएको

काठमाडौं । अब दुई वटा सेयर खाता (डिम्याट अकाउन्ट) रहेका लगानीकर्ताहरू आफैंले एउटाबाट अर्कोमा सेयर सार्न पाउने भएका छन् ।दुई वटा डिम्याट खाताबाट सेयर सार्न अहिलेको प्रक्रिया झन्झटिलो भएपछि सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले यस्तो प्रणाली अभ्यासमा ल्याउन लागेको हो ।

लगानीकर्ताले बैंकका सहायक कम्पनी मर्चेन्ट बैंकर र सेयर ब्रोकर जहाँबाट पनि डिम्याट खाता खोल्न सक्छन् । एउटै लगानीकर्ताले अहिले दुई वटासम्म डिम्याट खाता खोल्न पाउँछन् । तर सेयर कारोबार गर्ने खाता भने ब्रोकरकहाँ मात्रै खोल्न पाइन्छ । र, एउटा कारोबार खातासँग एउटा मात्रै डिम्याट खाता आबद्ध गरिएको हुन्छ । अर्को खातामा रहेको सेयर त्यही कारोबार खाताबाट गर्न मिल्दैन । यस्तो अवस्थामा सेयर सार्न भौतिक रूपमै प्रक्रिया अगाडि बढाउनुपर्छ ।

अहिले यी दुवै संस्थामा डिम्याट खाता भएको कुनै लगानीकर्ताले एउटा खाताबाट आफ्नो अर्को खातामा सेयर सार्न परेमा प्रणालीबाटै सार्न सक्दैनन् ।

लगानीकर्ताहरूले कारोबार गरिरहेको ब्रोकर संस्था परिवर्तन गर्दा यसरी आफ्नै खातामा रहेको सेयर अर्कोमा सार्ने अभ्यास छ । अहिले हरेक दिन यसरी सेयर सार्न लगानीकर्ताहरूको चाप पर्न थालेसँगै सिडिएससीले यसलाई सरल बनाउन लागेको हो ।

लगानीकर्ताले आफैंले यसरी सेयर सार्ने अभ्यास कार्यान्वयनमा आएमा भने ब्रोकरहरूलाई समस्या पर्न सक्नेमा केही ब्रोकरहरूको चासो हो । तर, सिडिएससीको प्रणालीले उधारो कारोबार नचिन्ने भएकोले ब्रोकरहरूले नै यसको व्यवस्थापन गर्नुपर्ने देखिन्छ।

त्यसबाहेक लगानीकर्ताले यसरी सेयर सारे पनि तत्कालै सोही दिन नै बिक्री नहुने भएकोले ब्रोकरले सतर्कता अपनाएमा यो ठूलो समस्या नहुने सिडिएससी बताउँछ । यद्यपी, हाल यो प्रक्रियाको बारेमा छलफल नै चलिरहेकोले ब्रोकरहरूसँग यसमा आउने व्यावहारिक समस्याका विषयमा पनि छलफल गरिने सिडिएससीका न्यौपानेले बताए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार