उपनिर्वाचन बैशाखमा हुने, चैत २४ मा मनोनयन दर्तासहित कार्यतालिका सार्वजनिक

  गौरीशंकर टाइम्स संवाददाता  207 पटक हेरिएको

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने भएको छ । आयोगले निर्वाचनका लागि कार्यतालिका समेत सार्वजनिक गरेको छ ।

सार्वजनिक तालिकाअनुसार इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ र बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन १ (१)को लागि हुने उपनिर्वाचनका लागि आउँदो चैत २४ गते मनोनयन दर्ताको लागि समय निर्धारण गरिएको छ । आगामी चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने तालिकामा उल्लेख छ ।

यही १६ फागुनदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २२ चैतमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगका सहायक प्रवक्ता डा। थानेश्वर भुसालले जानकारी दिए । साथै दल दर्ताका लागि फागुन २४ देखि ३० गतेसम्म समय तोकिएको छ ।

सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नको लागि मिति २०८० फागुन २४ गते देखि ३० गतेसम्म तोकिएको छ । आज स्वीकृत गरिएको कार्यतालिका अनुसार २०८० चैत्र २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनागरी चैत्र २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ ।

निर्वाचन कार्यक्रम अनुसार २०८० चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिनेछ ।

साथै २०८० चैत्र २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहने र वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित तोकिएको केन्द्रमा मतदान हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार