ग्याल्पो ल्होसार एक महिना अघि मनाए, सार्वजनिक विदा आज

  गौरीशंकर टाइम्स संवाददाता  463 पटक हेरिएको

काठमाडौं । शेर्पा समुदायले एक महिनाअघि नै ल्होसार पर्व मनाएको खुलासा भएको छ । सरकारले आज ग्याल्पो ल्होसार भन्दै सार्वजनिक बिदा दिए पनि शेर्पा समुदायले एक महिनाअघि नै ल्होसार मनाइसकेका छन् ।

शेर्पा सङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले यसवर्ष ग्याल्पो ल्होसार र सोनाम ल्होसार गएको माघ २७ गते एकैदिन परेकोले त्यही दिन नै शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाएको जानकारी दिनुभयो । त्यतिबेला प्रधानमन्त्री र सञ्चारमन्त्रीले समेत आफूहरुलाई ग्याल्पो ल्होसारको शुभकामना दिएको उहाँको भनाइ छ ।

ल्होसार गएको माघ २७ गते नै मनाइसकेको पर्वलाई अहिले बिदा र शुभकामना दिएकोमा शेर्पा समुदायले असन्तुष्टि जनाएका छन् । शेर्पाको संस्कृतिलाई लिएर सम्बन्धित विज्ञसँग छलफल नगरी सरकारले पात्रोमा बिदा राखेकोमा उनीहरुले आपत्ति जनाएको छ ।

यसवर्ष पात्रोमा गलत लेखिएकाले आफूहरुले सच्याउन आग्रह गरे पनि सरकारले बेवास्ता गरेको नेपाल शेर्पा सङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले बताउनुभयो । गत माघ २७ गते नै मनाइसकेको चाडलाई अहिले बिदा र शुभकामना दिएर सरकारले मजाक गरेको भन्दै शेर्पा समुदाय नै छक्क परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार